पदाधिकारीको पदभार ग्रहण कार्यक्रम सम्पन्न
भोजपुर (२६ भाद्र)÷भोजपुर बहुमुखी क्याम्पस, भोजपुरको मानविकी संकायमा रिक्त सहायक क्याम्पस प्रमुख पदमा उप प्राध्यापक उत्तमसिँह राई नियुक्त हुनुभएको छ भने रिक्त विद्यार्थी कल्याण प्रमुख पदमा शिक्षण सहायक शरण कुमार राई नियुक्त हुनुभएको छ । आज क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच दुवैले आ–आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहणपछि सहायक क्याम्पस प्रमुख उत्तमसिँह राईले क्याम्पसको उन्नती प्रगतिको लागि कर्मचारी, प्राध्यापक र विद्यार्थीहरुबीच सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै विद्यार्थी कल्याण प्रमुख शरणकुमार राईले विद्यार्थीको हक हितको लागि आफ्नो भुमिकालाई प्रभावकारी बनाउँदै कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्याम्पस प्रमुख डा. रोहितकुमार श्रेष्ठले नव नियुक्त सहायक क्याम्पस प्रमुख र विद्यार्थी कल्याण प्रमुखलाई शुभकामना दिनुहुँदै क्याम्पसको हितलाई सर्वोपरी राखेर सहमति, सहकार्य र सामुहिक निर्णयका आधारमा क्याम्पसलाई नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।