मानविकी संकायमा विद्यार्थी संख्या बढाउने प्रतिबद्धता
भोजपुर (१३ कार्तिक)/हाम्रो क्याम्पस, राम्रो क्याम्पस भन्ने मुल नारा बनाई भोजपुर बहुुमुखी क्याम्पसमा सञ्चालित मानविकी संकायमा विद्यार्थी आकर्षण बढाउने सम्पूर्ण विषय प्राध्यापकहरुले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आज क्याम्पस प्रमुख डा. रोहितकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा मानविकी संकायका सहायक क्याम्पस प्रमुख उत्तमसिंह राईको अध्यक्षतामा बसेको प्राध्यापकहरुको बैठकमा उक्त प्रतिबद्धता व्यक्त भएको हो ।
बैठकमा मानविकी संकायका विभिन्न विषयहरुमा विद्यार्थी भर्ना संख्या अत्यन्त न्यून हुनुको कारण के हुन सक्छ? कसरी यस संकायमा विद्यार्थीहरुको संख्या वृद्धि गराउन सकिन्छ? भन्नेबारे बिस्तृत छलफल भएको छ । बैठकमा भर्ना कार्यक्रमको सञ्चारमाध्यमबाट प्रचार प्रसार बढाउनु पर्ने, दश जोड दुई तहका प्राचार्यहरुसंग छलफल बैठक सञ्चालन गर्नुपर्ने, बिहानी र दिवा कक्षा सञ्चालनमा सिफ्ट परिवर्तन गर्न अध्ययन गर्ने, ग्रामिण विकास, सामाजिक अध्ययन जस्ता विषय थप गर्न पहल गर्ने, भूगोल विषयमा अध्ययन गर्ने कम्तिमा ९ जना विद्यार्थीहरुलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने, हाम्रो क्याम्पस, राम्रो क्याम्पस भन्ने नारालाई कार्यान्वयन गर्ने लगायत प्राध्यापकहरुबाट आएका सूझावहरुलाई कार्यान्वयन गर्न निर्णय गरेको छ । मानविकी संकायमा अंग्रेजी, नेपाली, भूगोल, इतिहास, राजनीति शास्त्र, गणित लगायत विषयहरु पठनपाठन हुने गरेका छन् । गत वर्ष क्याम्पसको तीन वटै संकायमा कुल ६४३ विद्यार्थी अध्ययनरत रहेकोमा मानविकी संकायमा ८४ जना विद्यार्थीले अध्ययन गरेका थिए ।
गत आश्विन ३० गतेदेखि स्नातक तह प्रथम वर्षमा भर्ना आवेदन खुल्ला भएसंगै विभिन्न संकायहरुमा विद्यार्थीहरुले आवेदन फारम भर्ने क्रम अहिले क्याम्पसमा चलिरहेको क्याम्पसका सूचना अधिकारी नोदनाथ त्रितालले जानकारी दिनुभएको छ ।