त्रिवि परीक्षा नियन्त्रकविहीन : विद्यार्थीको ट्रान्सक्रिप्ट र सर्टिफिकेट नै बनेन

 काठमाडौँ - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको छ । 

-विगत तीन दिनदेखि त्रिविमा परीक्षा नियन्त्रक नहुँदा विद्यार्थीको ट्रान्सक्रिप्ट, मूल सर्टिफिकेटजस्ता महत्वपूर्ण कागजात बनेका छैनन् । 

-कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले तीन दिनदेखि परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको बताए । 

-त्रिविले पहिले आवेदन दिएका विद्यार्थीका ट्रान्सक्रिप्ट मात्र उपलब्ध गराउँदै आएको छ । 

-उनका अनुसार, आर्थिक कारोबार, उत्तरपुस्तिकाका परीक्षण गर्ने परीक्षकको पनि पारिश्रमिक उपलब्ध गराउनेलगायतका काम पनि हुन सकेको छैन । 

-यसअघिका परीक्षा नियन्त्रक पुष्पराज जोशीको पदावधि यही भदौ ४ गतेदेखि सकिएपछि त्रिवि परीक्षा नियन्त्रकविहीन बन्न पुगेको छ । 

-त्रिवि कार्यकारी परिषद्ले तीन महिनाका लागि विशेष अधिकार प्रयोग गरी नियुक्त गरिएका जोशीको कार्यकाल सकिएपछि नियुक्ति अझै हुन सकेको छैन ।

  • राष्ट्रिय समाचार समिति